पक्की चिहानले वन विनास हुँदै

मोहन भट्टराई
मोरङ । झट्ट हेर्दा कुनै राम्रो सहरजस्तो, विभिन्न आकृति र कलात्मक ढंगले सजिएका चिहानहरु, त्यो पनि राजमार्ग छेउमै । सुनसरीको धरानबाट मोरङहुँदै झापाको काँकडभिट्टासम्म यात्रामा निस्कने हो भने यस्तै दृष्य देख्न सकिन्छ । घनाजंगलमा तीव्र रुपमा पक्की चिहान निर्माण भएपछि जंगल मासिने क्रममा छ । 
घना वन क्षेत्र भित्र बाक्लै बन्दै गरेको पक्की चिहानले एकातर्फ वन बिनास गरेको छ भने अर्को तर्फ भावि पुस्ताले चिहान बनाउने भूमि नपाउने अवस्था छ ।
विशेष गरी झापा, मोरङ र सुनसरी जिल्लाको राजमार्गले छोएका जंगलहरु प्राकृतिक रुपले हरियो देखिनुको सट्टा चिहानहरुले सेतै देखिन थालेको छ । झापाको सि
तापुरी, केर्खा, धरमपुर, माईधार, झिलझिले, चारआली, धाईजनमा पक्की चिहान निर्माणकार्य व्यापक छ । यस्तै मोरङको पथरीशनिश्चरे, बयरबन, डाँगीहाट, बेलबारी तथा सुनसरीको धरान सहितका ठाउँमा पक्की चिहानघारी छन् ।
तामाङ, गुरुङ, राई, लिम्बू, मगर लगायतका जातजातिहरुले मात्र निर्माण गर्दै आएको पक्की चिहान हाल आएर अन्य जातजातिहरुले समेत निर्माण सुरु गरेका छन् । झापा र मोरङमा भने भुटानी शरणार्थीहरुले समेत जंगलमै चिहान बनाउन थालेका छन् । पूर्व–पश्चिम राष्ट्रिय राजमार्ग सुरु भएपछि राजमार्ग छेउमा बस्ती वढ्दै जाँदा जंगल क्षेत्रमा मरेको मान्छे राख्ने गरेको र पछि सम्झना स्वरुप पक्की चिहान बनाउन सुरु गरेको पाइन्छ ।
जंगलमा बनाइएका चिहानहरु हेर्दा आफन्तको मृत्यु भएपछि कसले ठूलो चिहान निर्माण गर्ने भन्ने होडवाजीनै चलेको देखिन्छ । एउटा पक्की चिहानले १ देखि ३ धुरसम्म क्षेत्रफल ओगटेको छ ।
सुनसरी र झापामा चिहानले कति छेत्रफल ओगटेको छ भन्ने बारेमा जिल्ला वन कार्यालयहरु नै अनविज्ञ छन् । मोरङमा भने राजमार्ग छेउको करिब ४० कि.मी. लम्बाई र करिव २० हेक्टर क्षेत्रफल कंकृट चिहानहरुले ओगटेको जिल्ला वन कार्यालयको तथ्यांकमा छ । जंगलमा चिहान निर्माण तीव्रहुन थालेपछि यसलाई व्यवस्थित गर्न विभिन्न पक्षबाट पहल सुरु भएको छ । सामुदायिक वन उपभोक्ता समूहहरुले समेत आफ्नो क्षेत्रमा पक्की चिहान बनाउन रोक लगाएको हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगर बताउछन् ।
वन क्षेत्रमा कंक्रीट चिहान बनाउँदा यसले पु¥याउने असरवारे विभिन्न चेतनामुलक कार्यक्रम गरिदै आएपनि यो प्रथा अझै रोकिएको छैन । विभिन्न जातीय संस्थाहरुको पहलमा यो प्रथा रोक्न प्रयास गरिएपनि संस्कारलाई परिवर्तन गर्न सकिएको छैन ।
मोरङको पथरीशनिश्चरे–२ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगर प्रतिष्पर्धाकै आधारमा यो क्रम रहेका कारण आफन्तहरुलाई सजग गराउँदै यसको स्थानमा धुले चिहान बनाई त्यसको वरीपरी विरुवा रोप्न सल्लाह दिदै आएको बताउँछन् ।
तराइका विभिन्न स्थानहरुमा रहेका वनक्षेत्र र सार्वजनिक जमिनमा कंकिट चिहान महंगोगरी वनाउने होडवाजीले वन क्षेत्र संकटमा परेको वातावरण विद् रामचन्द्र अधिकारीको भनाई छ ।
वन उपभोक्ता समूहहरुले विभिन्न स्थानमा सूचना पार्टी राखेर सचेत गराएउन थालेपछि भनें पक्की चिहान निर्माण नगरी समाधिस्थलमा विरुवा रोप्न सुरु भएको छ । यसै विषयमा जिल्ला वन कार्यालय मोरङका प्रमुख जिल्ला वन अधिकृत डाक्टर विनोद देवकोटाले चिहान व्यवस्थित गर्न सामुदायिक वनहरुसँग छलफल थालिएको बताए । नयाँ चिहान बनाउने कार्य रोकिए पनि पुराना चिहानहरु हटाउन भने नसकिएको उनको भनाई छ ।
धनकुटाको भेडेटारस्थित नाम्जे गाउँका मगरजातीले पूर्खाहरुका सयौं चिहान उत्खनन् गरी एकै ठाउँमा समेटेर सामुहिक आत्माघर बनाई पर्यटकीय थलोका रुपमा विकास गरेको उनले स्मरण गर्दै त्यसैको अनुकरण गर्ने योजना रहेको उनले जानकारी दिए ।
नेपाल लगायत विभिन्न १७ वटा मुलुकका ईन्जिनियर र आर्किटेक्चरहरुले चार वर्ष अघि आत्माबस्ने घरको निर्माण गरेका थिए । ७५ प्रतिशत भन्दा बढि मगरहरुको बसोबास रहेको नाम्जेमा आत्माबस्ने घर हेर्नका टाढाटाढाबाट मानिसहरु आउने गरेका छन् ।
यसैबीच कंक्रीटका कारण वन क्षेत्रमा नया विरुवा उम्रने उर्वराशक्ति ह्रास आउनेभन्दै तामाङ समुदायिकले पथरीशनिश्चरेको जयचोकमा समाधिस्थल निर्माण गरी एकै ठाउँमा शव जलाउने गरेको छ । उक्त समुदायले दाह संस्कार स्थल वर पर वन क्षेत्रमा पक्की चिहान निर्माण नगर्न समेत सूचना टासेको छ ।
पछिल्लो समय विभिन्न जाति धर्म र सम्प्रादयको आडमा राष्ट्रिय वन अतिक्रमण हुँदै जाँदा चिहान निर्माण कार्यले समेत यसलाई सघाएको छ । यसरी नै चिहान निर्माण कार्य तिव्र रुपमा वढ्दै जाने हो भने पूर्वको वन मुर्दाघरको शहर वन्ने निश्चित छ । राजमार्ग छेउमा बनाइएको चिहानहरुले हरियो वन नेपालको धन भन्ने उक्तिलाई गिज्याईरहझै लाग्छ ।

जेफाले जाने पर्यटकीय मार्ग स्तरोन्नती हुँदै

मोहन भट्टराई
मोरङ । दक्षिणमा भारत र उत्तरमा पर्यटकीय क्षेत्र जेफाले जोड्ने उत्तरी मोरङको महत्वपूर्ण सडक स्तरोन्नतीका लागि एसियन डेभलपमेन्ट बैंक (एडीभी)ले सहयोग गरेपछि स्थानीयवासीमा खुशी छाएको छ । सडक स्तरोन्नती भएपछि उत्तरको पर्यटनका साथै पहाडी क्षेत्रको कृषिजन्य वस्तु तराइहुँदै भारतसँग व्यापार गर्न सकिने भएकोले स्थानीयवासी खुशी भएका हुन् । 
मोरङको खोर्सानेबाट केराबारी हुँदै २८ किलोमिटर उत्तरमा रहेको जेफाले पर्यटकीय एवम् धार्मिक स्थलसम्म पुग्ने उक्त पर्यटकीय मार्ग तीन वर्षभित्रमा मर्मत गरी सक्नेगरी एडीभीले १९ करोड रुपैयाँ सहयोग गरेको हो । जसमा पहिलो प्याकेजमा १४ किलोमिटरको काम भइरहेको छ । उक्त सडक मर्मत गरिसकेपछि लामोदुरीका रात्री बस समेत गुड्न सक्ने इन्जिनियर अंकीत भट्टराईले जानकारी दिए ।
उक्त सडक मर्मत र ठाउँ–ठाउँमा नाला निर्माण कार्य अगाडि बढाइएको छ । केराबारीदेखि सिंहदेवीको जेफाले जाने एकमात्र सडक हालसम्म ट्रयाकमात्रै खोलिएको छ । उक्त सडकको स्तरोन्नती हुन नसक्दा सहज रुपमा यातायातका साधन जान सकेका छैनन् । सडकका विभिन्न घुम्तिहरु फराकिलो पार्ने र वर्षात्को पानीले भत्काएका स्थानलाई मर्मत गर्न लागिएको हो । 
एडीभीले सडक मर्मत गर्न सहयोग गर्ने भएपछि स्थानीयवासी हौसिएका छन्् । यो सडकले पूर्णता पाएपछि भने रमणीयस्थल जेफालेको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ । समुद्री सतहदेखि दुईहजार सय मिटर उचाइमा अवस्थित जेफालेसम्म पक्की सडकलाई जोड्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने पत्रकार सन्तोष राईको भनाई छ । 
व्यापारिक दृष्टिकोणले पनि यसको महत्व धेरै रहेकोले उक्त सडकलाई खोर्सानेदेखि दक्षिण डाइनियाँहुँदै भारतको सिक्टीसम्म जोड्न सके स्थानीय उत्पादनले समेत बजार पाउने स्थानीय मनोज अधिकारीको भनाई छ । केराबारीदेखि जेफाले जोड्ने सडकको निर्माणमा पहिलेदेखि स्थानीयको सक्रियता रहेकोले सवै पक्षको सहकार्यले सफलता पाउने उनले बताए ।
पूर्वको महत्वपूर्ण पर्यटकीय सम्भावना बोकेको जेफालेसम्म पुग्न दुईवटा मार्ग रहेका छन्् । जसमा खोर्सानेबाट केराबारीहुँदै हावेचौरसम्म पुग्ने एउटा मार्ग हो भने धरानबाट भेडेटारहुँदै राजारानीबाट जेफाले जोड्ने अर्काे मार्ग रहेको छ । दुबै सडक पूर्णरुपमा सञ्चालनमा आउन सकेका छैनन् । यदि कुनै काम लिएर जिल्ला सदरमुकाम विराटनगर जानुप¥यो भनें उतै बास बस्नु पर्ने हुन्छ । अहिले सडकको स्तरोन्नतीको काम अगाडि बढेपछि स्थानीय हर्षित भएका छन्् ।
सामान्यतः वर्षा हुनेवित्तिकै पहिरो जाँदा सडक अवरुद्ध हुने गरेको छ । धरानबाट भेडेटार हुँदै जेफाले जोड्ने सडकमा सामान्य रुपमा यातायात सञ्चालनमा रहे पनि केराबारीदेखि हावेचौरतर्फको सडक पूर्णरुपमा यातायात सञ्चालन गर्न सकिने अवस्थामा छैन । 
मोरङको निर्वाचन क्षेत्र नम्बर ९ मा पर्ने यो सडक जिल्लाकै महत्वपूर्ण सडकका रुपमा रहेको जनाउँदै सोको निर्माण गर्नु अनिवार्य रहेको स्थानीय एवम् जेफाले होमस्टे व्यवस्थापन समिति अध्यक्ष युवराज खड्का बताउँछन् । 
सडक निर्माणपछि ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज ताजाताजै व्यापारिक केन्द्रमा पु¥याई ग्रामीण किसानको आय वृद्धिमा सघाउपुग्ने छ । मुल सडक सञ्जालमा जोडिएपछि ग्रामीणवासीमाझ आवश्यक पर्ने खाद्यान्न तथा विकास निर्माणका सामग्री भित्र्याउन, बिरामी पर्दा एम्बुलेन्स तथा यात्रुबाहक सवारी साधन गुडाउनसमेत यो सडकले सहज बनाउने जेफाले होमस्टे व्यवस्थापन समिति सचिव भीम ठकुरी बताउँछन् । 
जेफाले डाँडा मोरङ जिल्लामा रहेको प्राकृतिक मनोरम स्थल हो । यहाँबाट सूर्याेदय तथा सूर्यास्तको दृश्य अवलोकन गर्न सकिन्छ । यो डाँडामा चैत–बैशाखमा धेरै थरीका गुराँसहरू फुलेको देख्नसकिन्छ ।
सगरमाथा, कञ्चनजङ्गालगायतका हिमशृंखला तथा पूर्वका १४ वटा जिल्ला एकसाथ देख्न सकिने यो क्षेत्र पहाडी भू–भागमा रहेका कारण पनि उत्तिकै महत्वपूर्ण छ । 

वनै खायो अफ्रिकाको झारले

मोहन भट्टराई 
पथरी । ‘वनमाराले वनै खायो.....’ बोलको गीत बढ्दो वन विनाससंगै अहिले नेपालको सन्दर्भमा एक दमै उपयुक्त भएको छ । अन्य देशको जंगलमा पाइने वनमारा विभिन्न माध्यमबाट नेपालसम्म आइपुगी फैलिएर यहाँका अधिकांश रुख विरुवाहरुलाई विस्थापित गरेको छ । बन फडानी भएको क्षेत्रमा फैलिएको बनमाराले मोरङको अधिकांश जंगल प्रभावित भएको छ । 
मोरङको बेलवारी, पथरी, कानेपोखरी, लेटाङ, केरावारी लगायतका क्षेत्रमा पर्ने जंगलमा बनमाराको प्रकोप पछिल्लो पाँच बर्षमा अत्यधिक वृद्धि भएको छ । बिशेषगरी जंगल अतिक्रमण भएको क्षेत्र र बन फडानी भएको स्थानबाट बनमारा व्यापक रुपमा फैलिरहेको छ । 
बनमारा मोरङ लगायत तराईका जिल्लाहरुमा रहेका वन क्षेत्रमा फैलिएर अन्य जातका जडिबुटी र उपयोगी विरुवा उम्रन नदिएकाले समस्या आएको वन उपभोक्ता समूहको भनाई छ । मोरङको तराई क्षेत्र र केही पहाडी गाविसका जंगलमासमेत वनमारा सघनरुपमा विस्तार भएको छ । वनमाराको प्रकोप दोब्बर अनुपातमा बढेपछि बिषेशगरी कडा काठ उत्पादन हुने सालको विरुवाहरु मासिने क्रम बढेको सामुदायिक वन उपभोक्ता महासंघ मोरङका अध्यक्ष अग्नी पौडेलले बताउनुभयो । यसलाई नरोक्ने हो भने जंगलक्षेत्र मरुभूमिमा परिणत हुने खतरा रहेको उहाँले औंल्याउनु भयो । 
गाई गोरुले पनि नखाने र दाउरा बाल्न पनि काम नदिने भएकाले उपयोगविहीन यस झारले वन संरक्षणमा समस्या आएको मोरङ लेटाङभोगटेनीस्थित नमुना सामुदायिक वन उपभोक्ता समुहकी सचिव खुशमाया घिमिरे बताउनु हुन्छ । 
यसले जंगलभरी फैलिएर अरु विरुवालाई उम्रिनै दिदैन । यसलाई स्थायिरुपमा निर्मूल पार्न निकै मुश्किल हुने पथरीशनिश्चरे–३ स्थित चौतारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मेघराज चापागाई बताउनु हुन्छ । 
नेपालका करिव २० बर्षअघि सघनरुपमा देखा परेको वनमारा देशभर फैलिसकेको विराट साइन्स क्याम्पस विराटनगरका प्राध्यापक रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । अधिकारीले ठूला रुखहरु मासिदै गएपछि बनमाराले त्यस्ता क्षेत्र ढाक्दै जाने र नयाँ बिरुवाहरु हुर्कन नसक्ने अवस्था आउने बताउनुभयो । उहाँका अनुसार ठूला रुखहरुका कारण घाम नछिर्ने स्थानमा वनमाराको प्रसार कम हुन्छ भने ठूला रुख मासिएर जमिनसम्म सहजै घाम छिर्ने स्थानमा छिटो फैलने गर्दछ । मोरङमा खासगरी मिकानीया माइक्रान्ट्रा नाम गरेका बनमाराको प्रकोप बढी देखिएको छ । त्यसैगरी ल्यान्टेना क्यामेरा, युपाटोरीयम एडेनोफोरम, क्रोमोलिना हिस्टे«रोफोरम नामक वनमारा नेपालका विभिन्न क्षेत्रमा फैलिएको प्राध्यापक अधिकारीले जानकारी दिनुभयो ।
यस मध्ये सेतो डाँठ र ठुला पात भएका बनमारा तराई क्षेत्रमा ज्यादा देखिएको छ । काला डाँठ र सानो सानो बुट्यान हुने बनमारा पहाडि गाविसका जंगल क्षेत्रमा देखिएको छ । बनमारा अत्यन्त आक्रामक, घुसपैठीया र अवसरवादी वनस्पती हो । 
जिल्ला वन कार्यालय मोरङका प्रमुख डाक्टर विनोद देवकोटाका अनुसार मोरङमा माइकेनियाको समस्या गम्भीर रूपमा देखिएको छ । सामुदायिक वन र राष्ट्रिय वनभित्र बर्खामा माइकेनियाको बोटलाई सफा गर्ने गरिए पनि यसको उन्मूलन भने गर्न नसकिएको उहाँको भनाई छ । विभिन्न झारहरूको प्रभाव न्यूनीकरण गर्न विशेष कार्यक्रम नै सञ्चालन गर्नुपर्ने धारणा उहाँको छ । जिल्ला वन अधिकृत देवकोटा माइकेनिया फुल्नुअघि नै काटेर सफा गर्न सके यसको प्रभाव केही हदसम्म न्यून गर्न सकिने बताउनुहुन्छ । 
माइकेनिया, पार्थेनियम, वनमारा लगायतका झारलाई वनजङ्गलबाट उन्मूलन गर्न नसकिए पनि यी झारबाट ब्रिकेट बनाउन सकिने र यसलाई कोइलाको विकल्पका रूपमा प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । फुल र बिउको अत्यधिक उत्पादन क्षमताभएको वनमाराको प्रकोप नियन्त्रण गर्न त्यसको अत्यधिक उपयोग गर्नुपर्ने अधिकृत देवकोटाको सुझाव छ । कृषकहरुलाई वनमाराको मल र ब्रिकेट उत्पादन गर्ने तर्फ अग्रसर गराए वनमाराको अत्यधिक उपयोग बढी वन क्षेत्रमा हुने विस्तारलाई रोक्न सकिने उहाँको दावी छ । 
करिव २ सय बर्ष दक्षिण अमेरीकाको मेक्सिको, पेरु लगायत केही मुलुकमा देखा परेको बनमारा औद्योगिक क्रान्तीपछि नेपालमा पनि देखा परेको थियो । विभिन्न माध्यमबाट बनमाराको बीउ नेपाल भित्रिएको हो । अफ्रिकी मुलुकबाट भारत हुँदै भित्रिएका झारले नेपालका संरक्षित क्षेत्रमा रहेका दुर्लभ वनस्पती, वन्यजन्तुको वासस्थान, आहारलाई प्रतिकूल प्रभाव पार्न थालेपछि समग्र संरक्षण अभियानमा चुनौती थपिएको छ ।  
दक्षिण अफ्रिकाको जङ्गलमा पाइने माइकेनिया र उत्तर अमेरिकी जङ्गलमा पाइने पार्थेनियम नाम गरेका झार भारतको बाटो हुँदै नेपाल भित्रिएका हुन् । भारतको आसाम हुँदै केही वर्ष पहिले इलामका जङ्गलमा देखिएको माइकेनिया झार हाल कोशी टप्पु वन्यजन्तु आरक्ष, पर्सा वन्यजन्तु, चितवन राष्ट्रिय निकुञ्ज हुँदै नवलपरासी, कपिलवस्तु, दाङ, बाँकेका जङ्गलसम्म फैलिएको छ । यसले नेपालका कतिपय रैथाने वनस्पतिसमेत लोप हुने अवस्थामा पुगेका छन् । झार रूखमा झाँगिदै जाने र घाँसे मैदान, सिमसार क्षेत्र, नदी किनार ढाक्ने भएकाले साना बोटहरू मर्दै जाने र रूखमा झार झेलिँदा रूखहरूसमेत सुक्ने गरेका छन् ।
यसको प्रभावलाई कम गरी वन्यजन्तु, वनस्पति माथिको प्रभाव पनि कम हुने अर्काेतिर वैकल्पिक ऊर्जाको रूपमा पनि विकास गर्न सकिने भएकाले यी झारहरू काटेर उपयोग गर्ने प्रविधि अवलम्बन गर्न जरुरी छ ।