वनै खायो अफ्रिकाको झारले

मोहन भट्टराई 
पथरी । ‘वनमाराले वनै खायो.....’ बोलको गीत बढ्दो वन विनाससंगै अहिले नेपालको सन्दर्भमा एक दमै उपयुक्त भएको छ । अन्य देशको जंगलमा पाइने वनमारा विभिन्न माध्यमबाट नेपालसम्म आइपुगी फैलिएर यहाँका अधिकांश रुख विरुवाहरुलाई विस्थापित गरेको छ । बन फडानी भएको क्षेत्रमा फैलिएको बनमाराले मोरङको अधिकांश जंगल प्रभावित भएको छ । 
मोरङको बेलवारी, पथरी, कानेपोखरी, लेटाङ, केरावारी लगायतका क्षेत्रमा पर्ने जंगलमा बनमाराको प्रकोप पछिल्लो पाँच बर्षमा अत्यधिक वृद्धि भएको छ । बिशेषगरी जंगल अतिक्रमण भएको क्षेत्र र बन फडानी भएको स्थानबाट बनमारा व्यापक रुपमा फैलिरहेको छ । 
बनमारा मोरङ लगायत तराईका जिल्लाहरुमा रहेका वन क्षेत्रमा फैलिएर अन्य जातका जडिबुटी र उपयोगी विरुवा उम्रन नदिएकाले समस्या आएको वन उपभोक्ता समूहको भनाई छ । मोरङको तराई क्षेत्र र केही पहाडी गाविसका जंगलमासमेत वनमारा सघनरुपमा विस्तार भएको छ । वनमाराको प्रकोप दोब्बर अनुपातमा बढेपछि बिषेशगरी कडा काठ उत्पादन हुने सालको विरुवाहरु मासिने क्रम बढेको सामुदायिक वन उपभोक्ता महासंघ मोरङका अध्यक्ष अग्नी पौडेलले बताउनुभयो । यसलाई नरोक्ने हो भने जंगलक्षेत्र मरुभूमिमा परिणत हुने खतरा रहेको उहाँले औंल्याउनु भयो । 
गाई गोरुले पनि नखाने र दाउरा बाल्न पनि काम नदिने भएकाले उपयोगविहीन यस झारले वन संरक्षणमा समस्या आएको मोरङ लेटाङभोगटेनीस्थित नमुना सामुदायिक वन उपभोक्ता समुहकी सचिव खुशमाया घिमिरे बताउनु हुन्छ । 
यसले जंगलभरी फैलिएर अरु विरुवालाई उम्रिनै दिदैन । यसलाई स्थायिरुपमा निर्मूल पार्न निकै मुश्किल हुने पथरीशनिश्चरे–३ स्थित चौतारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मेघराज चापागाई बताउनु हुन्छ । 
नेपालका करिव २० बर्षअघि सघनरुपमा देखा परेको वनमारा देशभर फैलिसकेको विराट साइन्स क्याम्पस विराटनगरका प्राध्यापक रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । अधिकारीले ठूला रुखहरु मासिदै गएपछि बनमाराले त्यस्ता क्षेत्र ढाक्दै जाने र नयाँ बिरुवाहरु हुर्कन नसक्ने अवस्था आउने बताउनुभयो । उहाँका अनुसार ठूला रुखहरुका कारण घाम नछिर्ने स्थानमा वनमाराको प्रसार कम हुन्छ भने ठूला रुख मासिएर जमिनसम्म सहजै घाम छिर्ने स्थानमा छिटो फैलने गर्दछ । मोरङमा खासगरी मिकानीया माइक्रान्ट्रा नाम गरेका बनमाराको प्रकोप बढी देखिएको छ । त्यसैगरी ल्यान्टेना क्यामेरा, युपाटोरीयम एडेनोफोरम, क्रोमोलिना हिस्टे«रोफोरम नामक वनमारा नेपालका विभिन्न क्षेत्रमा फैलिएको प्राध्यापक अधिकारीले जानकारी दिनुभयो ।
यस मध्ये सेतो डाँठ र ठुला पात भएका बनमारा तराई क्षेत्रमा ज्यादा देखिएको छ । काला डाँठ र सानो सानो बुट्यान हुने बनमारा पहाडि गाविसका जंगल क्षेत्रमा देखिएको छ । बनमारा अत्यन्त आक्रामक, घुसपैठीया र अवसरवादी वनस्पती हो । 
जिल्ला वन कार्यालय मोरङका प्रमुख डाक्टर विनोद देवकोटाका अनुसार मोरङमा माइकेनियाको समस्या गम्भीर रूपमा देखिएको छ । सामुदायिक वन र राष्ट्रिय वनभित्र बर्खामा माइकेनियाको बोटलाई सफा गर्ने गरिए पनि यसको उन्मूलन भने गर्न नसकिएको उहाँको भनाई छ । विभिन्न झारहरूको प्रभाव न्यूनीकरण गर्न विशेष कार्यक्रम नै सञ्चालन गर्नुपर्ने धारणा उहाँको छ । जिल्ला वन अधिकृत देवकोटा माइकेनिया फुल्नुअघि नै काटेर सफा गर्न सके यसको प्रभाव केही हदसम्म न्यून गर्न सकिने बताउनुहुन्छ । 
माइकेनिया, पार्थेनियम, वनमारा लगायतका झारलाई वनजङ्गलबाट उन्मूलन गर्न नसकिए पनि यी झारबाट ब्रिकेट बनाउन सकिने र यसलाई कोइलाको विकल्पका रूपमा प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । फुल र बिउको अत्यधिक उत्पादन क्षमताभएको वनमाराको प्रकोप नियन्त्रण गर्न त्यसको अत्यधिक उपयोग गर्नुपर्ने अधिकृत देवकोटाको सुझाव छ । कृषकहरुलाई वनमाराको मल र ब्रिकेट उत्पादन गर्ने तर्फ अग्रसर गराए वनमाराको अत्यधिक उपयोग बढी वन क्षेत्रमा हुने विस्तारलाई रोक्न सकिने उहाँको दावी छ । 
करिव २ सय बर्ष दक्षिण अमेरीकाको मेक्सिको, पेरु लगायत केही मुलुकमा देखा परेको बनमारा औद्योगिक क्रान्तीपछि नेपालमा पनि देखा परेको थियो । विभिन्न माध्यमबाट बनमाराको बीउ नेपाल भित्रिएको हो । अफ्रिकी मुलुकबाट भारत हुँदै भित्रिएका झारले नेपालका संरक्षित क्षेत्रमा रहेका दुर्लभ वनस्पती, वन्यजन्तुको वासस्थान, आहारलाई प्रतिकूल प्रभाव पार्न थालेपछि समग्र संरक्षण अभियानमा चुनौती थपिएको छ ।  
दक्षिण अफ्रिकाको जङ्गलमा पाइने माइकेनिया र उत्तर अमेरिकी जङ्गलमा पाइने पार्थेनियम नाम गरेका झार भारतको बाटो हुँदै नेपाल भित्रिएका हुन् । भारतको आसाम हुँदै केही वर्ष पहिले इलामका जङ्गलमा देखिएको माइकेनिया झार हाल कोशी टप्पु वन्यजन्तु आरक्ष, पर्सा वन्यजन्तु, चितवन राष्ट्रिय निकुञ्ज हुँदै नवलपरासी, कपिलवस्तु, दाङ, बाँकेका जङ्गलसम्म फैलिएको छ । यसले नेपालका कतिपय रैथाने वनस्पतिसमेत लोप हुने अवस्थामा पुगेका छन् । झार रूखमा झाँगिदै जाने र घाँसे मैदान, सिमसार क्षेत्र, नदी किनार ढाक्ने भएकाले साना बोटहरू मर्दै जाने र रूखमा झार झेलिँदा रूखहरूसमेत सुक्ने गरेका छन् ।
यसको प्रभावलाई कम गरी वन्यजन्तु, वनस्पति माथिको प्रभाव पनि कम हुने अर्काेतिर वैकल्पिक ऊर्जाको रूपमा पनि विकास गर्न सकिने भएकाले यी झारहरू काटेर उपयोग गर्ने प्रविधि अवलम्बन गर्न जरुरी छ । 

No comments:

Post a Comment