मोहन भट्टराई
सिंहदेवी(मोरङ) । उत्तरी मोरङको सिंहदेवीमा रहेको प्राकृतिक सौन्दर्यले भरिपूर्ण, शान्त मनोरम जेफालेमा सञ्चालित होमस्टेले आगन्तुकहरुलाई आकर्षित गरिरहेको छ । पूर्वी नेपालका पर्यटकीय स्थानहरुमध्ये मोरङको जेफाले नयाँ र मनोरम गन्तव्य हो । त्यहाँ सुरु गरिएको होमस्टे(घरबास) आगन्तुकहरुका लागि आकर्षण बनेको हो ।
मोरङको उत्तरी गाविस सिंहदेवीको वार्ड नम्बर पाँच विहीबारे बजार, जसलाई हाबेचौरी पनि भनिन्छ । हाबेचौरी तराईबाट ३४ किलोमिटर पहाडी यात्रा गरेपछि पुगिन्छ जुन समुद्र सतहबाट १ हजार मिटर उचाइमा छ । यस हाबेचौरीलाई पूर्वका १६ जिल्लाको दृष्यावलोकन गर्न सकिने जेफाले डाँडाको आधारशिविरको रुपमा लिइन्छ । यस क्षेत्रमा सञ्चालित ‘होमस्टे’ पर्यटक तान्ने प्रमुख आधारका रुपमा विकसित हुँदै गएको छ ।
जेफाले सामुदायिक होमस्टे व्यवस्थापन समितिका सचिव भिम ठकुरीका अनुसार अहिले पर्यटनको मौसम नभएपनि जेफालेमा भने पर्यटकको अभाव छैन । दैनिक होमस्टेमा बस्न र जेफालेबाट मनोरम दृष्य हेर्नेको लर्काे नै लागिरहेको छ ।
अन्यत्रका होमस्टे पर्यटक नआएर बन्द भएको खबर सुन्दा यहाँ पनि त्यस्तै होला बेकारको झन्झट हुनेभयो भन्ने लागेको थियो रे उहाँलाई । तर जेफालेमा दैनिक समूह–समूहमा आन्तरिक पर्यटक पुगिरहेका छन् होमस्टे पनि राम्रो चलेको छ ।
जेफालेले दिएको सत्कार, सद्भाव र पर्यटकलाई दिने महत्वले गर्दा एक पटक पुगेका व्यक्तिहरु फेरी फेरी पनि त्यहाँ पुगिरहने गरेका छन् । मोरङको जेफाले प्राकृतिक रुपमा धेरै आकर्षक रहेको आन्तरिक पर्यटकहरु बताउँछन् ।
जेफाले घुम्न र होमस्टेमा बस्नका लागि मात्र नभएर जेफाले क्षेत्रमा पाइने विभिन्न प्रजातिका सुनाखरी, सेतो सर्प, अजिङ्गर र विभिन्न प्रजातिका चरा हेर्न जाने पर्यटक बढेका छन् । पर्यटक बढाउन होमस्टे झन् सहयोगी बनेको छ । खासगरीे छिन्छिन्मा बादल लाग्ने, पानी पर्ने, घाम लागी रहेको पाइने जेफालेमा शितल वातावरण, शिव पार्वती मन्दिर, तीनचाने ढुंगा, हरियाली जंगल, चिया बगान, सूर्याेदयको सुन्दर दृश्यावलोकन गर्न पाइने भएकोले पर्यटक लोभिने गरेका छन् ।
जेफालेमा सञ्चालित होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाद्यान्नहरुबाट पाहुनालाई स्वागत गर्ने गरिएको र बस्नका लागि पर्यटकको चाहनाअनुसारको व्यवस्था भएको जेफाले सामुदायिक होमस्टे व्यवस्थापन समितिका सचिव भिम ठकुरी बताउनुहुन्छ ।
परीक्षणका रुपमा पाँचवटा घरमा सञ्चालित होमस्टेमा एक दिनमा ५० व्यक्तिलाई बास बस्ने र खाना खुवाउनसक्ने व्यवस्था रहेको सचिव ठकुरीले जानकारी दिनुभयो । त्यहाँ बस्नका लागि प्याकेजमै व्यवस्था गरिएको छ । प्याकेजमा प्रतिव्यक्ति एक हजार पचास रुपैयाँमा चिया, खाजा, खाना, बास र घुमाउने समेतको व्यवस्था गरिएको छ ।
यसैगरी, पर्यटकलाई मनोरञ्जनका साथै स्थानीय परम्परा, रहनसहन, संस्कार र संस्कृतिको विषयमा पनि जानकारी दिने उद्देश्यले हुर्रा नाच देखाउने गरिएको छ ।
नाचमा पर्यटकले पनि भाग लिन पाउने सचिव ठकुरीले बताउनुभयो । पर्यटन विकासलाई संयोजन गर्न जेफालेमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ ।
आन्तरिक पर्यटन विकासको प्रचुर सम्भावना बोकेको जेफाले डाँडामा पर्यटन सूचना केन्द्र स्थापना भएपछि पर्यटकले पनि राहत महशुस गरेका छन् ।
जेफालेमा यतिका धेरै सम्भावनाहरु हुँदा हुँदै पनि त्यहाँसम्म पुग्ने फराकिलो मोटर बाटो, प्रहरी सुरक्षा र सञ्चारको अत्यावश्यक रहेको छ । पर्यटक र स्थानीयवासीहरुका सुविधाका लागि टेलिफोन टावर, इन्टरनेट र प्रहरी पोष्टको खाँचो रहेको होमस्टे सञ्चालक भिम ठकुरी बताउनु हुन्छ ।
स्थानीय व्यापारिक केन्द्र भएकाले पनि भविष्यमा जेफालेको पर्यटकीय सम्भावना बलियो देखिन्छ । यसका लागि राज्य र स्थानीयबासिन्दाले पनि ठोस पहल गर्नु आवश्यक देखिन्छ ।
No comments:
Post a Comment