हरियाली जिल्लाकै उत्कृष्ट सामुदायिक वन

पुरस्कार ग्रहण गर्दै हरियाली सामुदायिक वनका अध्यक्ष काबुलबहादुर मगर ।











मोहन भट्टराई
लक्ष्मिमार्ग । ‘सम्वृद्धिका लागी वन र स्वच्छ वातावरण’ भन्ने मुल नाराको साथ बिहिवार जिल्ला वन कार्यालय मोरङले वर्षभरीमा उत्कृष्ट काम गर्ने सामुदायिक वन तथा कर्मचारीलाई पुरस्कृत गर्दै राष्ट्रिय बृक्षारोपण दिवश सम्पन्न गरेको छ । जिल्ला वन कार्यालयले लक्ष्मीमार्गस्थित लक्ष्मी सामुदायिक वन क्षेत्रमा वृहत्तर वृक्षारोपण कार्यक्रमको आयोजना गरेर राष्ट्रिय वृक्षारोपण दिवस मनाएको हो ।

पुरस्कार ग्रहण गर्दै सुवेदार टंक विश्वकर्मा ।

जिल्ला भरीका उत्कृष्ट सामुदायिक वन समुह, उत्कृष्ट कर्मचारीहरुलाई र स्कुल शिक्षा कार्यक्रम अन्तर्गत वक्तृत्वकला प्रतियोगितामा छानीएका छात्र छात्राहरुलाई पुरस्कार तथा प्रमाण पत्र समेत वितरण गरीएको थियो । जसमा पथरीशनिश्चरे–२ को हरियाली सामुदायिक वन उपभोक्ता समूहलाई प्रथम पुरस्कार प्रदान गरिएको थियो । हरियालीलाई आ.व. २०७४÷७५ मा वन संरक्षण, वनको वैज्ञानिक व्यवस्थापन, वन विकास तथा विपन्नमुखी कार्यक्रममा उल्लेखनीय कार्य गरी जिल्ला भरमा सबैभन्दा उत्कृष्ट प्राप्त गरी प्रथम भएको हो । हरियालीलाई प्रथम पुरस्कार वापत ७ हजार ५ सय र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदी, विशिष्ट अतिथि जिल्ला वन अधिकृत डा. विनोद देवकोटासहितले प्रदान गरेका थिए ।
यस्तै, बेलबारीको रमिते सामुदायिक वन दोस्रो, लक्ष्मिमार्गको लक्ष्मि सामुदायिक वन तेस्रो र
केराबारीको आमजुगी सामुदायिक वनलाई सान्तवना पुरस्कार प्रदान गरिएको थियो ।
सो अवसरमा उत्कृष्ट कार्य गरेवापत इलाका वन कार्यालय बाउन्नेका प्रमुख सहायक वन अधिकृत तुलसीलाल यादव र सेक्टर वन कार्यालय मंगलबारेमा कार्यरत सुवेदार टंक विश्वकर्मालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

वृक्षारोपण गर्दै ग्रामिण सुधार सामुदायिक वन क्षेत्र नं. ३ का कोषाध्यक्ष हेमन्त घिमिरे ।

राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा पुरस्कार प्रदान गर्नुका साथै लक्ष्मि सामुदायिक वन क्षेत्रमा वृक्षारोपण समेत गरिएको थियो । विगत पाँच वर्ष देखि निरन्तर रुपमा वृक्षारोपण गर्दै आएको लक्ष्मी सामुदायीक वन क्षेत्रमा हाल सम्ममा ११२ हेक्टर जमिनमा वृक्षारोपण गरीसकिएको र यस पटक १५ हेक्टरका वृक्षारोपण गर्न लागीएको लक्ष्मी सामुदायीक वनका अध्यक्ष लोकबहादुर बस्नेतले बताए ।
लक्ष्मी, सिर्जना र सिंहदेवी सामुदायीक वनले संयूक्त रुपमा सह आयोजकको रुपमा गरेको उक्त कार्यक्रममा १५ हेक्टर जमिनमा २५ हजार १ सय विरुवा रोपिने र जसमध्ये टिक १० हजार, मसला १० हजार, खयर ५ हजार र बाँसको विरुवा १ सय रोपिन लागीएको लक्ष्मी सामुदायीक वनका सचिव ज्ञानुराज राईले बताए । वृक्षारोपण गरीएको सबै क्षेत्रमा व्यवस्थीत काणेतारको घेराबारा गरेको छ ।

वृक्षारोपण गर्दै बसन्त हरियाली सामुदायिक वन समूहका अध्यक्ष सन्त राई ।

कार्यक्रममा स्कुल शिक्षण कार्यक्रम अन्तर्गत वक्तृत्वकला प्रतियोगितामा छानीएका छात्र छात्राहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरीएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा बेलवारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदि र बिशिष्ट अतिथिका रुपमा प्रदेश वन मन्त्रालयका निमित्त उप सचिव पूर्णेश्वर सुवेदिको उपस्थिति रहेको थियो ।

मासुमा आत्म निर्भर बन्न पाडा पालन



चौतारी बहुउदेश्यीय कृषि समूहका पाडापाडी चराउंदै कर्मचारी ।

मोहन भट्टराई
पथरी । पूर्वी मोरङ पथरीशनिश्चरे–२ मा युवा तथा गाउँका अगुवाहरु स्वदशमैं  केहिगरौं भन्ने उद्देश्यले भैंसीका पाडा पालन तर्फ लागेका छन् । वार्षिक साढे पांच लाखभन्दा बढी युवायुवती वैदेशिक रोजगारी तर्फ आकर्षित हुंदै विदेश पलायन भइरहेको बेला पथरीशनिश्चरेका युवाहरु भनें वैदेशिक रोजगारी छोड्दै भैंसीका पाडा पालन तर्फ लागेका हुन् । 
मोरङको पथरीशनिश्चरे –२ स्थित चौतारी बहुउदेश्यीय कृषि समूहले मासु उत्पादनका लागि ब्यावसायिक पाडापालन सुरु गरेको छ ।
प्रति विगाहा ३० हजार रुपियाँ भाडा तिर्ने गरी साडे सात विगाहा जग्गा लिजमा लिएर समूहले ब्यावसायिक पाडापालन सुरु गरेको हो । सम्पूर्ण जग्गामा हाल घाँस लगाइएको छ । 
समूहले थप १ विगाहा जग्गामा पाडाको गोठ निर्माण गरेको छ । गोठमा हाल ७६ वटा पाडापाडी रहेका छन् । 
वैदेशिक रोजगारी लाई तिलाञ्जली दिंदै समूह बनाई पाडा पालनमा लागेर नमूना कार्य थालेको  समूहका सचिव गंगा रिजालको भनाई छ । झण्डै अढाई महिना अघि चैत ७ गते बाट पाडा खरिद गर्दै गोठमा हाल्न थालेको सचिव रिजालले बताए । 

चरनबाट ल्याई आराम गर्दै गरेका पाडापाडीहरु देखाउंदै समूहका सचिव गंगा रिजाल ।

समूहमा १६५ जना किसानको २३ लाख रुपियाँ लगानी रहेको छ । एक वर्ष भित्रमा १ करोड लगानी पु¥याउने लक्ष्य समूहको रहेको छ । खासगरी किसानलाई मात्र लगानी गर्न दिने सोच समूहको थियो । तर किसानसँग प्रसस्त पैसा नहुँदा उद्यमी, ब्यापारीका लागि पनि बाटो खोल्नु पर्ने अवस्था आएको समूहका सचिव रिजालले बताए ।
गोठ निर्माण, दाना र पाडा खरिदमा हाल सम्म १३ लाख रुपियाँ खर्च भइसकेको छ । शेयर सदस्यले ५ हजार देखि ५० हजार रुपियाँ सम्म शेयर लगानी गरेको समूहका अध्यक्ष रत्नबहादुर बस्नेतले बताए । नयाँ सदस्यको प्रवेश हुने क्रम बढेको उनले जानकारी दिए । अध्यक्ष बस्नेतका अनुसार खसी–बाख्रा, बंगुर, स्थानीय जातका कुखुरा र माछापालनका लागि समेत गोठ र पोखरी निर्माण हुने छ । 
पहिलो चरणमा बंगुर र स्थानीय जातका १ हजार ५ सय कुखुरा पाल्नका लागि गोठ र खोर निर्माण भइरहेको छ । त्यस्तै थप डेढ सय पाडापाडीका लागि पनि गोठ निर्माणधीन अवस्थामा रहेको छ । यसैगरी, भविष्यमा भनें यो व्यवसायको साथमा कुखुरा बाख्रा, माछा पालन साथै बेमौसमी सब्जी खेती गर्ने उद्देश्य रहेको पनि अध्यक्ष बस्नेत बताउँछन् । सरकारको अनुदान प्राप्ती भएमा अझ अर्को फर्म थपेर अन्य युवालाई समेत समावेश गरी विदेश पलायनलाई रोकेर स्वरोजगारलाई प्रोत्साहन दिने पनि आफ्नो योजना रहेको कुरा व्यवसायी बस्नेत थप्छन् । 
१८ हजारमा खरिद गरेका एक हल पाडा एक महिना पालेपछि ३१ हजारमा बिक्री भएको छ । वीउ, मासु र जोत्ने प्रयोजनका लागि नेपालमा पाडाको खरिद बिक्री हुने गरेकोले ब्यावसाय राम्रोसँग चल्ने समूहका सदस्यहरू बताउँन छन् ।
समूहले हाल २ जनालाई रोजगार दिएको छ । बिहान ५ बजे पछि ४ घण्टा र बेलुका ३ बजे देखि ३ घण्टा पाडालाई स्थानीय बक्राहा खोला किनारमा चरनमा लग्ने गरिएको छ । खोला किनारसँगै जोडिएको जग्गा लिजमा लिएकोले ३ सय पाडा पाल्न थप पूर्वाधार निर्माण गर्नु नपर्ने बताइएको छ । 
३ वर्ष पछि वार्षिक १ करोड ५० लाख रुपियाँ बराबरको राँगा मात्र बेच्ने समूहको लक्ष्य छ । पाँच वर्षमा ५० करोडको सबै खाले मासुजन्य पदार्थ उत्पादनको लक्ष्य हो । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहयोग पाए पूर्वाञ्चल क्षेत्रमा मासुको परनिर्भरता आधा घटाउने लक्ष्य छ ।
बजारमा भैसींको दुधभन्दा पाडाको मासुको भाऊ र मांग बढीरहेकाले त्यो मागलाई मध्यनजर गरेर नै पाडा पालन व्यवसाय थालेको समूहको भनाई छ । 
यसैगरी दैनिक रुपमा १५ सय जति युवा विदेश पलायन भइरहेको अवस्थामा पथरीशनिश्चरे–२ का अर्का युवा प्रेम गुरुङले परिन राष्ट्रिय युवा परिषदबाट ५ लाख रुपैयाँ अनुदान पाएपछि पाडा पालन सुरु गरेका छन् । गुरुङको अध्यक्षतामा गठित नेपाल कृषी फर्ममा अन्य पाँचजना युवा आबद्ध भई पाडा, गाई र बँगुर पालन गरेका छन् ।
गुरुङ जस्तै कानेपोखरी ७ का युवा रामकुमार श्रेष्ठले पनि राष्ट्रिय युवा परिषदबाट अनुदान लिई पाडा पालन गरेका छन् । श्रेष्ठको गोठमा अहिले नौ वटा पाडापाडी छन् । उनले गाउँपालिकाबाट पाडा पालन सम्बन्धि तालिम समेत लिएको बताए ।

राष्ट्रिय युवा परिषदबाट अनुदान लिइ पालेका पाडा निरीक्षण गर्दै युवा परिषद
मोरङका संयोजक रविन थापा, साथमा पत्रकार भुपेन्द्र तिम्सिना र कानेपोखरी ७ का कृषक श्रेष्ठ ।

अगुवा किसानहरु यस्तो व्यवसायमा लागेर आम्दानी गर्न थालेको कुरा थाहा पाउदा सबैलाई खुशी लाग्छ । साच्चै भन्ने हो भनें यो देशमा युवाले गर्ने कामै नभएर विदेश पलायन भइरहेको भनें होइनन्, तर सही सोंच सहींं योजना नभएर हो भन्न चाहीं अवश्य सकिन्छ । त्यसैेले यदि यो देशमा कैले केही गर्छु, आफैं स्वरोजगार बन्छु भन्छ भनें कृषी पेशालाई नै अंगालेर त्यसलाई निरन्तरता र दीर्घकालिन सोंच बनाएर लाग्ने हो भनें जो कोही पनि अवश्य सफल हुन्छ । 

युवा परिषदको सहयोगमा पथरीशनिश्चरे–२ का प्रेम गुरुङले सुरु गरेको पाडा पालन व्यवसाय ।