मोहन भट्टराई
पथरी । जिल्ला वन कार्यालय मोरङले विगत राष्ट्रिय वन कार्यक्रम अन्तरगत वनक्षेत्रमा रहेका सिमसार व्यवस्थापनका लागि लगानी गर्न थालेको छ । वनक्षेत्रमा भएका सिमसारको संरक्षण गर्दै पर्यापर्यटनलगायत माटो पानी जोगाउने उद्देश्यले कार्यक्रम सुरु गरेको हो ।
जिल्ला वन कार्यालयले सामुदायिक वन क्षेत्रभित्र रहेका सिमसारलाई संरक्षण गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्न विभिन्न स्थानका सिमसारलाई अनुदान सहयोग गरेको छ । संरक्षणको अभावमा वन क्षेत्रभित्र रहेका सिमसार सुक्न थालेको र त्यसले ओगटेको जमिन त्यसै खेर गइरहेकोले सिमसारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी आम्दानी गर्ने उद्देश्यले लगानी गरिएको सेक्टर वन कार्यालय मंगलबारेका प्रमुख सहायक वन अधिकृत एकराज दाहालले जानकारी दिनुभयो । यो कार्यक्रमले वनक्षेत्रमा भएका अवस्था विग्रिदै गएका र सुक्न लागेका सिमसार संरक्षणमा मद्दत पुग्ने उहाँको भनाई छ ।
|
बयरवनको ग्रामीण सुधार सा.व.उ.स.को कानेपोखरी |
जिल्ला वन कार्यालयले आर्थिक वर्ष २०७२÷७३ मा मधुमल्ला स्थित मावा नुनसरी सामुदायिक वन क्षेत्रमा रहेको देवीथान सिमसारलाई १ लाख ५० हजार, मधुमल्लाकै मिक्लुङ्ग सामुदायिक वनमा रहेको कत्ले बेतीनी सिमसारलाई ३ लाख रुपैयाँ अनुदान दिएको छ । कार्यालयका अनुसार पथरीशनिश्चरेस्थित शान्ति सामुदायिक वनमा रहेको भुल्के जालपादेवी सिमसारलाई १ लाख ५० हजार, बेलबारीको ऐतिहासिक धनपाल गढीको पोखरीलाई ४ लाख र सुन्दरदुलारीस्थित हसिना सिमसारलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
मधुमल्लास्थित मावा नुनसरी सामुदायिक वन उपभोक्ता समूह भित्र रहेको देवी थान सिमसारलाई संरक्षणका लागि जिल्ला वन कार्यालयले गत वर्ष ४ लाख रुपैयाँ सहयोग गरेको थियो । यसवर्ष समूहले आफ्नै आम्दानीबाट ५० हजार र जिल्ला वनको १ लाख ५० हजार खर्च गरी पोखरी निर्माण गरिएको छ । १७ कठाभित्र फैलिएको पोखरीको डिलमा विभिन्न जातका फुल, धुपीलगायतका विरुवा रोपिएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने र पिकनिक स्पटको रुपमा विकास गर्ने समूहको लक्ष रहेको अध्यक्ष राजेन्द्रप्रसाद घिमिरे बताउनुहुन्छ ।
|
मधुमल्लास्थित मिक्लुङ्ग सा.व.उ.स.को कत्ले बेतिनी |
अतिक्रमणको चपेटामा परेको पोखरीलाई समूहले संरक्षण गर्दै आएको र जिल्ला वनको सहयोगले अझ विकास भएको समूहका सहायक लेखापाल जगत बस्नेत बताउनुहुन्छ । बस्नेतका अनुसार मधुमल्लालाई चिनाउने महत्वपूर्ण स्थानमध्ये यो पोखरी पनि एक हो । उक्त पोखरीबाट उम्रिएको जरुवा पानी नाइटे पानी भन्ने स्थानमा गएर मिसिन्छ । एक समयमा इनार, ट्युबवेलहरु नभएको बेला ताप्लेजुङ्ग, पाँचथर, इलामदेखि नुन, कपडा बोक्न आउने भरियाहरुले जंगलमा बासबस्दा त्यही नाइटेपानीको पानी पिउने गरेको सहायक लेखापाल बस्नेतको भनाई छ ।
हिउँदको खडेरीमा मधुमल्लाका प्रायः खोलाहरु सबै सुके पनि यस देवीथान पोखरीको जरुवा पानी नसुक्ने भएकाले कहीं आगलागी भएमा त्यहींको पानी प्रयोग गर्न सकिने भएकाले पनि त्यस पोखरीको संरक्षणको आवश्यकता रहेको उहाँ बताउनुहुन्छ ।
यस्तै, जिल्ला वनले सहयोग गरेपछि मधुमल्लाकै मिक्लुङ सामुदायिक वन क्षेत्रमा रहेको कत्ले सिमसार पोखरीलाई सुन्दर र मनमोहक बनाउन स्थानीय जुटेका छन् ।
|
मधुमल्लास्थित मावा नुनसरी सा.व.उ.स.को देवीथान |
चालु आर्थिक बर्षमा उक्त सिमसार संरक्षणको लागि जिल्ला वन कार्यालय र जिल्ला भू–संरक्षण कार्यालयबाट करिव ८ लाख रुपैयाँ सहयोग भएपछि उपभोक्ताहरु सिमसार संरक्षणमा उत्साहीत भएका हुन् । सिमसार संरक्षणका लागि जिल्ला वन कार्यालयबाट तीन लाख रुपैयाँ र जिल्ला भू–संरक्षण कार्यालयबाट चार लाख ७६ हजार रुपैयाँ अनुदान सहयोग प्राप्त भएको मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सन्तोष लावतीले जानकारी दिनुभयो । भविष्यमा सिमसारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर वनको आम्दानी बढाउने लक्ष्य रहेको अध्यक्ष लावतीको भनाई छ ।
पोखरीको डिलमा बाल उद्यान, पिकनिक स्पट, डुङ्गा सयर, विभिन्न पशुपंक्षी समेत संरक्षण गरेर पर्यटक भित्रयाउने योजना रहेको अध्यक्ष लावती बताउनुहुन्छ ।
पञ्च बर्षीय यौजना रहेको ‘कत्ले सिमसार क्षेत्र’ ५ हेक्टरमा फैलिएको छ भने, पोखरी बीचमा टापुुरहेर वरिपरी घुमेको देखिन्छ । तीनतिर चोसो देखिने पानीको चाप रहेको पोखरीको वरिपरी धुपी, टिकलगायतका विरुवा समेत रोपिएको छ ।
|
पथरीशनिश्चरेस्थित शान्ति सा.व.उ.स.को भुल्के जालपादेवी |
मोरङको पथरीशनिश्चरे–१ स्थित शान्ति सामुदायिक वन क्षेत्रभित्र रहेको भुल्के सिमसार क्षेत्रलाई व्यवस्थित गर्ने कार्यलाई तीव्रता दिइएको छ । जिल्ला वन कार्यालय मोरङले सिमसार तथा पर्यटकीय क्षेत्र विकासको लागि १ लाख ५० हजार सहयोग गरेपछि शान्ति सामुदायिक वनले सिमसार क्षेत्र विस्तारको लागि कार्य सुरु गरेको हो । पथरीशनिश्चरेलाई पर्यटकीय स्थलको रुपमा विका गर्ने उद्देश्यले सो कार्यको थालिएको समूहका कोषध्यक्ष तकवीर लिम्बूले जानकारी दिए । पथरीशनिश्चरेको गहनाको रुपमा रहेको त्यस सिमसार क्षेत्र संरक्षण अभावमा पानीको मुल सुकेर सिमसार नै लोप हुने खतरा बढेको भन्दै यसको संरक्षण गरी पर्यटकीय गन्तव्यकोरुपमा विकास गर्ने लक्ष रहेको कोषाध्यक्ष लिम्बू बताउँछन् ।
लगानी गर्ने संस्थाको नजर नपुगेका जिल्लाभरी दर्जनौं यस्ता सिमसारहरु संरक्षणको पर्खाइमा रहेका छन् । यस्तै संरक्षणको पर्खाइमा रहेको मोरङ बयरवनको ऐतिहासिक कानेपोखरी, पथरीशनिश्चरेको हरियाली सामुदायिक वन क्षेत्रमा रहेको सिमसार, सुन्दर सामुदायिक वनमा रहेको पोखरी पनि संरक्षण अभावमा सुक्ने खतरामा पुगेका छन् । कतिपय सिमसारहरु अस्थित्वमा मात्र सीमित छन् जसलाई संरक्षण र विकास गर्न सके पर्यटक भित्रयाएर वार्षिक लाखौं आम्दानी गर्न सकिन्छ ।